समाचार
राष्ट्रपति रनिङ शील्ड, २०७९
२०७९ माघ ५ गतेदेखि श्री सुनकोशी मा.वि., खाङसाङको खेल मैदानमा सञ्चालन भएको फिक्कल गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता २०७९ माघ ९ गते पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सहित समापन भएको छ ।
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सञ्चालन भएको खेलकुद प्रतियोगितामा फिक्कल गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयका छात्र-छात्राले कुल ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा श्री रत्नगङ्गा मा.वि. शोखु डिहिटार ११ स्वर्ण पदक, ५ रजत पदक र ६ कास्य पदक सहित प्रथम; श्री फिक्कल मा.वि. सोल्पा ९ स्वर्ण पदक, ६ रजत पदक र २ कास्य पदक सहित द्वितिय; श्री सुनकोशी मा.वि. खाङसाङ ४ स्वर्ण पदक, ५ रजत पदक र ६ कास्य पदक सहित तृतीय तथा श्री मा.वि. सुम्नामसुन्तले चण्डिभञ्ज्याङ २ स्वर्ण पदक, १ रजत पदक र २ कास्य पदक सहित सान्त्वना हुन सफल भएका थिए ।
प्रथम हुने विद्यालयले रु. २५ हजार नगद पुरस्कार सहित शील्ड र कप, द्वितीय हुने विद्यालयले रु. १५ हजार नगद पुरस्कार सहित कप, तृतीय हुने विद्यालयले रु. १० हजार नगद पुरस्कार सहित कप तथा सान्त्वना हुने विद्यालयले रु. ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गरेका थिए ।
ऐच्छिक खेलको रुपमा खेलाईएको रग्वी खेलमा छात्र तर्फ श्री सुनकोशी मा.वि. खाङसाङ, श्री मा.वि. सालुके, श्री मा.वि. रातमाटा खोलागाउँ क्रमश: प्रथम, द्वितीय र तृतीय तथा छात्रा तर्फ श्री सुनकोशी मा.वि. खाङसाङ, श्री रत्नगङ्गा मा.वि. शोखु डिहिटार, श्री मा.वि. रातमाटा खोलागाउँ क्रमश: प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।
राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन फिक्कल गाउँपालिका र विद्यालयका शिक्षकहरुबीच भएको मैत्रीपूर्ण रग्वी खेलमा विद्यालयका शिक्षकहरु १-० ले अगाडी रहँदै खेललाई आफ्नो पक्षमा पार्न सफल हुनुभएको थियो ।
पाँचौं राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिनुहुने तथा खेलमा प्रत्यक्ष परोक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुप्रति गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ ।